अब कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० बर्ष

Ram Gautam News And Update , Person , June 30th, 2020

संस्दीय समितिबाट पारित भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि अब निजामति कर्मचारी अवकाशको उमेर २ वर्ष बढाइएको छ । यसअघि ५८ वर्ष रहेकोमा विधेयकमा ६० वर्षको व्यवस्था गरिएको छ । तर, ०७७ साल मसान्तसम्मका लागि ५८ वर्ष र ७७ साउन १ देखि ७९ असार मसानत्सम्मका लागि ५९ वर्ष अवकाश उमेर हुने छ । यो विधेयक पारित भएमा यो व्यवस्था लागु हुनेछ । समितिले प्रतिवेदनसहित विधेयक अब प्रतिनिधिसभामा पेस गर्नेछ । प्रतिनिधिसभामा पुनः समितिले पठाएको विधेयकमाथि थप छलफल हुनेछ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले सोमबार बहुमतबाट यो प्रतिवेदन पारित गरेको हो । सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, सत्तारुढ दल नेकपा र समाजवादी जनता पार्टीका सांसदहरुको असहमतिकैबीच समिति सभापति शशी श्रेष्ठले विधेयक पारित भएको घोषणा गरिन् ।

०७५ माघ २७ गते तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयक दर्ता गराएका थिए । लामो समय समितिमा छलफलपछि विधेयक विवादकैबीच समितिले पारित गरेको हो । निजामती सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्न आवश्यक कानुनी व्यवस्था गर्नका लागि भन्दै सरकारले विधेयक ल्याएको थियो ।

समितिले पारित गरेको विधेयकमा निजामती सेवालाई समावेशी बनाउन पुरानो व्यवस्थामा फेरबदल गरिएको छ । खुला प्रतियोगिताबाट ४९ प्रतिशत पद पूर्ति हुने व्यवस्था गरिएको छ । यसअघि ४५ प्रतिशत मात्र खुला प्रतियोगिताबाट पदपूर्ति हुने व्यवस्था थियो । ४९ प्रतिशतमध्ये पनि सो प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा महिलाहरुबीच मात्र प्रतियोगिता गराउने प्रावधान राख्न प्रस्ताव गरिएको छ ।

सेवा प्रवाहमा ढिलासुस्ती गरेमा बढीमा १० दिनको तलब कट्टा गर्न विधेयकमा प्रस्ताव गरिएको छ । सेवा प्रवाहमा ढिलासुस्ती, सरकारी सम्पत्ति दुरुपयोग, अपमानजनक कार्य गरेमा यो प्रावधान आकर्षित हुनेछ । त्यस्तै, सरकारले खटाएको कामका सिलसिलामा द्वन्द्व, दुर्घटना वा प्रकोपमा परि मृत्यु भएमा कर्मचारीको परिवारलाई एक मुष्ट १० लाख दिने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

प्रतिक्रिया